जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ११:३६

लुभुमा हायस घरको गेटमा ठोक्किँदा चार घाइते, दुईको अवस्था गम्भीर


काठमाडौं, भदौ ६ । ललितपुरको लुभुमा हायस अनियन्त्रित भएर घरको गेटमा ठोक्किँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

महालक्ष्मी नगरपालिका–८ लुभुको नरकट्टेमा ‘अन टेस्ट’ नम्बर प्लेटको हायस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। हायसले सुरुमा घरको गेटमा ठक्कर दिएको थियो। त्यसपछि पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा हायस चालक लुभुका २६ वर्षीय अखिल राजथला, महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन, मकवानपुर घर भई महालक्ष्मी–६ सानागाउँ बस्दै आएकी १८ वर्षीया एलिसा लामा र लुभुका २६ वर्षीय राज महर्जन घाइते भएका छन्।

प्रहरीका अनुसार अखिल राजथला र राज महर्जनको अवस्था गम्भीर रहेको छ। घाइते चारैजनाको ललितपुरस्थित बीएन्डबी र किस्ट अस्पतालमा उपचार भइरहेको छ।

हायसमा चालकसहित चारजना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पार्किङ गरी राखिएको कारमा सामान्य क्षति पुगेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।