जनता टाइम्स

६ भाद्र २०८३, शनिबार १४:४५

तीन बर्षीया बालिका गरिमा चौधरी हत्याको विरोधमा बाराको पथलैयामा बिशाल प्रदर्शन


बारा, भदौ ६ । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयले बाराको पथलैया चोकमा प्रदर्शन जारी राखेका छन् । स्थानीयवासीले गत बुधबारदेखि नै बालिका हत्याको बिरोधमा प्रदर्शन गरिरहेका हुन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द भएपछि प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ । सो क्रममा स्थानीयसँग प्रहरीको वादविवाद पनि भएको छ । ईलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैया छाडेर सिमरा केन्द्रित आन्दोलन गर्न स्थानीय बासीलाई आग्रह गरेपनि स्थानीय आन्दोलनमै रहेका हुन ।

तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेन्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।

बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गरे पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो । जस्को कारण अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।

बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भइरहेका छन् ।

सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो । तर मध्यरातमा भएको सहमतिमा आफूहरुलाई अमान्य भएको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् ।

मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् ।