रामेछाप, भदौ ६ । रामेछाप नगरपालिका–५ रामपुरस्थित स्वास्थ्य चौकीमा आयोजित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट १३६ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविरमा सहभागीले निःशुल्क स्वास्थ्य परीक्षण, औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्राप्त गरेका छन्।
बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप, मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो। रामेछाप नगरपालिका, वडा नं. ५ को कार्यालय, रामपुर स्वास्थ्य चौकी तथा रामेछाप नगरपालिका–७ स्थित आरोग्य केन्द्रको समन्वय र सहकार्यमा शिविर आयोजना गरिएको हाे ।

शिविरमा ९५ महिला र ४१ पुरुष गरी कुल १३६ जनाले आयुर्वेदिक स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा उपचारसम्बन्धी सेवा लिएका थिए। स्थानीयस्तरमै सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिकले आफ्नै गाउँठाउँमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन पाएको आयोजकको भनाइ छ।

शिविरमा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की, चिकित्सालयका अध्यक्ष नवराज पथिकलगायतको सहभागिता रहेको थियो।
चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा सहभागी नागरिकलाई स्वास्थ्य परीक्षण, परामर्श तथा उपचारसम्बन्धी सेवा प्रदान गरेको थियो।














प्रतिक्रिया दिनुहोस्