जनता टाइम्स

६ भाद्र २०८३, शनिबार २१:०५

जनकपुरमा सातवटा पोखरी अतिक्रमणमुक्त, ६५ घरटहरा भत्काइयो


काठमाडौं, भदौ ६ । जनकपुरधाममा सार्वजनिक पोखरीको अतिक्रमण हटाउने अभियानअन्तर्गत पहिलो दिन सातवटा पोखरीका डिल अतिक्रमणमुक्त गराइएको छ।

शनिबार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर प्रयोग गरी हटाइएको हो।

गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्यसचिव जनक पोखरेलका अनुसार अतिक्रमण गरी बनाइएका ६५ वटा घरटहरा भत्काइएको छ।

अतिक्रमित क्षेत्र खाली गर्न यसअघि नै साउन १ गते सूचना जारी गरिएको थियो। अतिक्रमण हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।

पोखरेलका अनुसार अब दोस्रो चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखांकन गरी कार्ययोजना बनाएर खाली गराउने प्रक्रिया अघि बढाइनेछ।

समितिले पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको छ। कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमित क्षेत्र खाली गराउने तयारी गरिएको छ।

अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले जनकपुरका गुठी जग्गाको अतिक्रमणबारे तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ।