जनता टाइम्स

६ भाद्र २०८३, शनिबार २१:३४

एमाले कमजोर भए देश पनि कमजोर हुन्छ : अध्यक्ष ओली


काठमाडौं, भदौ ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भए देश पनि कमजोर हुने बताउनुभएको छ।

भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको बताउँदै जनसङ्गठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो।

देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताउनुभयो।

दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने स्पष्ट सन्देश दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा एमालेबाट मन्त्री पदमा शपथ लिनुभएका दुई मन्त्रीलाई सम्मान गर्नुभयो।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो।

जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत करिब १५० जना नेता तथा प्रतिनिधि कार्यशालामा सहभागी छन्। कार्यशाला आइतबार सम्पन्न हुनेछ।