काठमाडौं, भदौ ६ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा तथा कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताउनुभएको छ।
काठमाडौंमा शनिबार पार्टीद्वारा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाउनुभएको हो।
उहाँले हालैको बजेट वामपन्थी विचारधाराअनुकूल नभएको र त्यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो। बजेटले आम नागरिकमा आशा जगाउन नसकेको भन्दै उहाँले आफ्नो पार्टीको राजनीति र आन्दोलन कमजोर तथा उपेक्षित वर्गको अधिकारका लागि केन्द्रित हुने स्पष्ट पार्नुभयो।
राज्यको उत्पत्ति तथा सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठाबाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने बताउनुभयो।
यदि राज्यले महिला तथा विपन्न नागरिकको सुरक्षा र संरक्षण गर्न सक्दैन भने त्यस्तो राज्यको औचित्यमाथि नै प्रश्न उठ्ने उहाँको भनाइ छ।
उहाँले न्यायपूर्ण राज्य निर्माणका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
‘राज्य हामीले बनाएको नै नागरिकको संरक्षणका लागि हो। एउटी महिलाको संरक्षण हुन सक्दैन, एउटा गरिबको संरक्षण हुन सक्दैन भने त्यस्तो राज्यको औचित्यमाथि प्रश्न उठ्छ,’ उहाँले भन्नुभयो।
अध्यक्ष परियारले समतामूलक समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै युवालाई राजनीतिक रूपमा सचेत र वैचारिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिनुभयो।
प्रगतिशील लोकतान्त्रिक पार्टीले युवाहरूलाई राजनीतिक रूपमा सचेत तथा वैचारिक रूपमा सक्षम बनाउने उद्देश्यले प्रशिक्षण भेलाको आयोजना गरेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्