काठमाडौं, भदौ ७ । सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका अभिभावकसँग सरकारले तीनबुँदे सहमति गरेको छ।
गृह मन्त्रालयमा शनिबार भएको वार्तापछि सरकार र बालिकाका अभिभावकबीच सहमति भएको हो। वार्तामा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी सहभागी हुनुहुन्थ्यो।
सहमतिअनुसार जघन्य अपराधका घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुन परिमार्जन गरिने भएको छ। यसका लागि विद्यमान कानुनमा रहेको सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ।
त्यस्तै, गरिमा चौधरीका अभिभावकको चाहनाअनुसार बालिकाको सालिक निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री लम्सालले स्थानीय तहसँग समन्वय गर्ने सहमति भएको छ।
सहमतिमा बालिकाका अभिभावकले आफ्नो रीतिरिवाजअनुसार गरिमाको अन्त्येष्टि गर्ने उल्लेख छ।
सहमति पत्रमा सम्बन्धित मन्त्रीहरूका साथै गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मानमति चौधरीले हस्ताक्षर गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्