जनता टाइम्स

७ भाद्र २०८३, आईतवार ०९:१९

छोराको हत्या भएको खबर सुनेपछि आमाको पनि मृत्यु


काठमाडौं, भदौ ७ । काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उहाँकी आमाको पनि मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–१७ जनप्रिय टोलकी ३८ वर्षीया बिना कालाथोकीको शनिबार दिउँसो घरमै मृत्यु भएको हो। काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर अध्ययन गरिरहनुभएका वसन्तको शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

छोराको हत्या भएको खबर सुनेपछि विक्षिप्त बन्नुभएकी बिनाको शनिबार दिउँसो करिब ३ बजे घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पुर्‍याइएको छ। शव प्रतिष्ठानको शवगृहमा राखिएको छ।

घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान् रोमहर्ष कालाथोकी वैदेशिक रोजगारीका क्रममा मलेसियामा हुनुहुन्छ। उहाँ नेपाल फर्किएपछि मात्र बिनाको पोस्टमार्टम गरिने भएको छ।

वसन्तको हत्या भएको खबर बिनालाई एकाएक सुनाइएको र त्यसपछि उहाँ विक्षिप्त बन्नुभएको वडाध्यक्ष चौधरीले बताउनुभयो। घरमा एक्लै रहनुभएका बेला उहाँको मृत्यु भएको बताइएको छ।

बिनाको मृत्युपछि उहाँका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राख्नुभएको छ। श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएका बेला जेठो छोराको हत्या र त्यसको खबर सुनेपछि आमाको समेत मृत्यु भएपछि परिवारमा ठूलो वियोग परेको छ।