काठमाडौं, भदौ ७ । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबारदेखि बन्द रहेको सिमराको सडक आइतबार बिहानदेखि सामान्य अवस्थामा फर्किएको छ।
वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत सिमरा दशधुरेमा स्थानीयवासी र मृतक परिवारले सडकमा टेन्ट राखेर गर्दै आएको आन्दोलन शनिबार रातिदेखि फिर्ता लिएपछि सवारीसाधन सञ्चालनमा आएका हुन्।
आन्दोलनका कारण रोकिएका मालबाहक सवारीसाधन राति नै गन्तव्यतर्फ लागेका थिए। आइतबार बिहानदेखि लामो तथा छोटो दूरीका यात्रुवाहक र मालबाहक सवारीसाधन निर्वाध रूपमा चल्न थालेका छन्।
गत आइतबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया गरिमा घरबाटै बेपत्ता हुनुभएको थियो। उहाँको शव दुई दिनपछि मंगलबार साँझ स्थानीय एक खाली घरमा हत्या गरिएको अवस्थामा फेला परेको थियो।
गरिमाको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले सोही राति स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।
घटनामा संलग्नलाई कडा कारबाही र नाबालिकाको हत्यामा संलग्नलाई फाँसीको सजाय दिनुपर्ने लगायतका माग राख्दै स्थानीयले बुधबारदेखि सडकमा आन्दोलन गर्दै आएका थिए।
गरिमाको न्यायका लागि भएको आन्दोलन देशव्यापी बन्दै गएपछि गृहमन्त्री सुदन गुरुङको आह्वानमा मृतकका आमा मानमती चौधरी र बुवा मनोज चौधरी वार्ताका लागि काठमाडौं आउनुभएको थियो।
गृह मन्त्रालयमा शनिबार मध्यराति सरकार र मृतक परिवारबीच तीनबुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो। मृतक परिवारसँग सहमति भएको जानकारी पाएपछि स्थानीयले राति करिब १ बजे सडकबाट धर्ना हटाएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्