जनता टाइम्स

७ भाद्र २०८३, आईतवार ०९:३४

बंगालको खाडीमा कार्गो जहाज डुब्यो, २० चिनियाँसहित २४ जना सवार


काठमाडौं, भदौ ७। भारतको पूर्वी तट नजिक बंगालको खाडीमा पानामाको झण्डा भएको कार्गो जहाज डुबेको छ। जहाजमा सवार २४ जना चालक दलका सदस्यको खोजी तथा उद्धार अभियान जारी छ।

‘एमभी ओसन विनर’ नामको उक्त जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक गरी २४ जना सवार थिए।

शनिबार राति जहाजसँग सम्पर्क विच्छेद भएपछि भारतको म्यारिटाइम रेस्क्यु कोअर्डिनेसन सेन्टर (एमआरसीसी) ले खोजी तथा उद्धार अभियान सुरु गरेको हो। जहाज सञ्चालन गर्ने कम्पनी भिक्ट्री स्टार ग्रुप कम्पनी लिमिटेडले उद्धारका लागि सहयोग मागेपछि भारतीय अधिकारीहरूले अभियान अघि बढाएका हुन्।

दुई जनाको उद्धार

सूचना प्राप्त भएपछि एमआरसीसीले अन्तर्राष्ट्रिय सुरक्षा सञ्जाल सक्रिय गर्दै ‘एमटी आइसोपोस’ नामको अर्को जहाजलाई घटनास्थलतर्फ पठाएको थियो।

उद्धार टोलीले दुईवटा लाइफराफ्टबाट दुई जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएका दुवै जनाको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन।

बाँकी चालक दलका सदस्यको खोजीका लागि भारतीय तटरक्षक बलले उद्धार अभियानलाई तीव्र बनाएको छ।

सिंगापुर जाँदै थियो जहाज

प्रारम्भिक विवरणअनुसार फलाम उत्पादनमा प्रयोग हुने कच्चापदार्थ बोकेको एमभी ओसन विनर ओडिशाको पारादीप बन्दरगाहबाट सिंगापुरतर्फ जाँदै थियो। यात्राका क्रममा जहाज ट्र्याकिङ प्रणालीबाट हराएपछि खोजी सुरु गरिएको हो।

जहाज पारादीप तटबाट २०० समुद्री माइलभन्दा बढी टाढा रहेको बताइएको छ। अधिकारीहरूका अनुसार जहाजको अन्तिम रिपोर्ट गरिएको स्थान इस्ट आइल्यान्ड लाइटबाट करिब ३१० समुद्री माइल टाढा थियो।

जहाज डुब्नुको कारणबारे भने अहिलेसम्म स्पष्ट जानकारी आएको छैन।