रामेछाप, भदौ ७ । रोजगारी र अवसरको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला रामेछापको मन्थली नगरपालिका–८, चिसापानीका केही युवाहरू भने गाउँमै बसेर कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बन्न प्रेरणादायी प्रयास गरिरहनुभएको छ।
‘गाउँमै केही गरौँ’ भन्ने सोचका साथ उहाँहरूले व्यावसायिक भैँसीपालन, दूध सङ्कलन तथा वितरण, तरकारी तथा खुर्सानी खेती र व्यावसायिक फूल खेती सुरु गर्नुभएको हो। मेहनत र लगनशीलताका साथ गाउँमै आम्दानीको बाटो पहिल्याउन थालेपछि स्थानीयस्तरमै रोजगारी र आर्थिक गतिविधिसमेत बढ्न थालेको छ।

भैँसीपालन विस्तारसँगै किसानले उत्पादन गरेको दूध बिक्रीका लागि गाउँमै दूध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरिएको छ। सहकारीमार्फत सञ्चालन भइरहेको केन्द्रमा स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री गर्ने गरेका छन्। चिस्यान केन्द्रका प्रबन्धक श्याम श्रेष्ठका अनुसार एक जना किसानले दूध बिक्रीबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्नुभएको छ।
सङ्कलन गरिएको दूधमध्ये गाउँमै खपत हुने परिमाण स्थानीय बजारमा बिक्री गरिन्छ भने बाँकी दूध सदरमुकाम मन्थलीका डेरीमा पठाउने गरिएको छ। यसबाट किसानले आफ्नो उत्पादनको बजार पाउनुका साथै सहकारीमार्फत सञ्चालन हुने केन्द्रमा रोजगारीसमेत सिर्जना भएको छ।

त्यस्तै, केही किसानले खुर्सानी, गोलभेँडालगायतका तरकारी खेतीलाई व्यावसायिक रूप दिन थाल्नुभएको छ। गाउँमै उत्पादन गरेर आम्दानी गर्न सकिने भएपछि वर्षमा दुई–चार लाख रुपैयाँ कमाउनकै लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुँदै गएको स्थानीयको अनुभव छ।
बजारमा फूलको माग राम्रो रहेको देखेपछि केही किसान फूल खेतीतर्फ समेत आकर्षित हुनुभएको छ। मन्थली बजारमै मागअनुसार फूल उपलब्ध हुन नसक्ने भएकाले व्यावसायिक रूपमा फूल उत्पादन गर्न सके राम्रो आम्दानी गर्न सकिने किसानहरूको विश्वास छ। उत्पादन बढाउन सके काठमाडौंसम्मको बजारमा समेत फूल बिक्री गर्न सकिने सम्भावना रहेको उहाँहरू बताउनुहुन्छ।

स्थानीय युवा समिल कर्माचार्यले भैँसीपालन र गोलभेँडा खेतीसँगै यस वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती सुरु गर्नुभएको छ। फूल खेतीबाट राम्रो आम्दानी हुने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा यसको क्षेत्र विस्तार गर्ने योजना रहेको बताउनुभयो।
उहाँका अनुसार तरकारी तथा अन्य बालीमा बाँदरलगायतका वन्यजन्तुबाट हुने क्षति पनि हुने गरेको छ। फूल खेतीमा त्यस्तो समस्या तुलनात्मक रूपमा कम हुने भएकाले बजार राम्रो पाएमा ठूलो क्षेत्रफलमा फूल खेती गर्ने उहाँको सोच छ।
गाउँमै बसेर केही गर्न चाहने युवालाई व्यावसायिक बनाउन वडा कार्यालयले समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार किसानलाई व्यावसायिक बनाउन सहयोग, अनुदान र बजारीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन्।

“वडाको स्रोत र साधनले भ्याएसम्म हामीले सबै सहयोग गरेका छौँ। प्लास्टिक टनेल, बीउबिजन, भैँसी खरिदका लागि अनुदानलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ। यसले किसानलाई व्यावसायिक बन्न केही न केही सहयोग गरेकै छ,” उहाँले भन्नुभयो।
गाउँमै रोजगारी र आम्दानीको सम्भावना खोज्दै कृषि तथा पशुपालनमा लागेका चिसापानीका युवाहरूको प्रयासले ‘अवसर खोज्न विदेश नै जानुपर्छ’ भन्ने सोचलाई चुनौती दिएको छ। स्थानीय स्रोत, श्रम र सीपको सदुपयोग गर्दै व्यावसायिक कृषि अघि बढाउन सके गाउँमै आत्मनिर्भरता र समृद्धिको आधार तयार गर्न सकिने उहाँहरूको अनुभवले देखाएको छ।














प्रतिक्रिया दिनुहोस्