काठमाडौं, भदौ ७ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।
आइतबार युवाहरूले प्रदर्शन गर्दै पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन निर्माण गर्नुपर्ने माग गरेका थिए । उनीहरूले अपराधीलाई कडा सजाय दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।
महिला तथा बालबालिकामाथि हुने जघन्य अपराधका घटना बढ्दै गएको र कानुनी प्रक्रिया फितलो हुँदा दोषीले उन्मुक्ति पाउने अवस्था बनेको प्रदर्शनकारीहरूको आरोप थियो ।
उनीहरूले गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन कानुनी सुधार गर्नुपर्ने माग गरेका छन् ।
सरकार र गरिमा चौधरीका परिवारबीच शनिबार राति तीनबुँदे सहमति भएको थियो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ ।














प्रतिक्रिया दिनुहोस्