जनता टाइम्स

७ भाद्र २०८३, आईतवार १४:४६

२ वर्षीया बालिका हत्या घटनामा घरकै एक व्यक्ति पक्राउ


जनकपुरधाम, भदौ ७। सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन मृत फेला परेकी छन् ।

मोहम्मद इरफानकी छोरी सानिया आइतबार बिहानदेखि हराएकी थिइन् । परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजी थालेको थियो । खोजीका क्रममा उनी आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्यु कसरी भयो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रुपक खड्कासहितको अनुसन्धान टोली पुगेको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउनेलगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।