जनता टाइम्स

७ भाद्र २०८३, आईतवार १४:५८

जापानमा २५ वर्षीया नेपाली युवती मृत फेला, हत्याको आशंका


काठमाडौं, भदौ ७ । जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन्। उनको मृत्यु शंकास्पद देखिएपछि जापानी प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ।

अगस्ट १९ मा नदीमा तैरिरहेको अवस्थामा लक्ष्मीको शव फेला परेको थियो। उनी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। फुकुओकास्थित एक भाषा विद्यालयमा अध्ययनरत उनी स्थानीय रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार अगस्ट १८ को राति करिब १०ः३० बजे काम सकेर साइकलमा डेरातर्फ जाँदै गर्दा सहकर्मीले उनलाई अन्तिमपटक देखेका थिए। त्यसको करिब सात घण्टापछि अगस्ट १९ को बिहान ५ः४५ बजे नदीमा उनको शव फेला परेको थियो।

लक्ष्मीको साथमा व्यक्तिगत सामान फेला नपरेको प्रहरीले जनाएको छ। शव परीक्षणका क्रममा मृत्युको स्पष्ट कारण खुल्न नसके पनि उनको टाउको र निधारमा कुनै वस्तुले प्रहार गरेको गम्भीर चोट देखिएको बताइएको छ।

त्यस्तै, लक्ष्मी बस्ने कोठामा रगतका दाग तथा हात हालाहाल भएको संकेतसमेत फेला परेको जनाइएको छ। यद्यपि, उनको डेराको ढोकामा जबरजस्ती प्रवेश गरेको वा कोठामा तोडफोड भएको स्पष्ट प्रमाण भने फेला परेको छैन।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले लक्ष्मीको मृत्यु दुर्घटना नभई हत्या हुन सक्ने कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ।