काठमाडौं, भदौ ७। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउनु अहिले पार्टीको प्रमुख अभिभारा रहेको बताउनुभएको छ।
विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ (अनेमसंघ) कोशी प्रदेशको दोस्रो सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगमनविरुद्धको आन्दोलनका लागि पार्टीलाई वैचारिक र सांगठनिक रूपमा तयार पार्नुपर्ने बताउनुभयो। उहाँले उक्त आन्दोलनमा सँगै हिँड्न सक्ने शक्तिहरूलाई समेत साथमा लिएर अघि बढ्नुपर्ने वर्तमान परिस्थिति रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले वर्तमान सरकार हरेक क्षेत्रमा डर, त्रास र भयको वातावरण सिर्जना गर्दै स्वेच्छाचारी ढंगले चलिरहेको आरोप लगाउनुभयो। सरकार फासीवादतर्फ उन्मुख भएको दाबी गर्दै उहाँले जनताले दिएको बहुमत देशमा आतंक सिर्जना गर्न नभई राम्रोसँग शासन सञ्चालन गर्नका लागि ‘लाइसेन्स’ भएको धारणा राख्नुभयो।
उहाँले प्रतिगमनलाई परास्त गर्दै आगामी स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्न एमालेले एकताबद्ध भएर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष ओलीले पार्टी पुनर्गठनका विषयमा विभिन्न हल्ला चलिरहेको भन्दै त्यसबाट भ्रमित नहुन आग्रह गर्नुभयो। महासंकटको अवस्थामा मात्र पार्टी पुनर्गठन हुने बताउँदै उहाँले अहिले पार्टी पुनर्गठनको आवश्यकता र औचित्य नरहेको स्पष्ट पार्नुभयो।
नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने क्रममा २०१९, २०२८ र २०७७ सालमा पार्टी पुनर्गठन गरिएको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले ‘पुनर्गठन’ शब्दको दुरुपयोग गरेर अध्यक्ष हटाउने हल्ला चलाइएको बताउनुभयो।
उहाँले अध्यक्ष हटाउने विषय पार्टी पुनर्गठनअन्तर्गत नपर्ने स्पष्ट पार्दै पार्टीभित्र कुनै पनि विषयमा दृष्टिकोण राख्ने समय र प्रक्रिया हुने बताउनुभयो। ‘कसैले पनि सीमाबाहिर गएर स्वेच्छाचारी ढंगले दृष्टिकोण राख्ने स्थिति हुनुहुँदैन। कुनै पनि विषयमा आफ्ना दृष्टिकोण राख्ने समय हुन्छ, नेतृत्वको विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने समय हुन्छ,’ उहाँले भन्नुभयो।
विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठकको मागतर्फ संकेत गर्दै अध्यक्ष ओलीले अहिले त्यस्ता गतिविधि ‘बेमौसमी बाजा’ भएको टिप्पणी गर्नुभयो ।
ओलीले गत निर्वाचनमा पार्टीले धक्का व्यहोरे पनि एमालेले बोकेको न्यायपूर्ण र सुखी समाज निर्माणको महान उद्देश्य कमजोर नहुने बताउनुभयो। एउटा निर्वाचनमा पराजित हुँदैमा कम्युनिस्ट आन्दोलन कमजोर र सधैँ असफल नहुने भन्दै उहाँले उच्च आत्मविश्वासका साथ पार्टी काममा लाग्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।
उहाँले साम्यवाद परिकल्पना भए पनि समाजवाद आफ्नै समयमा हासिल गर्न सकिने यथार्थ लक्ष्य भएको बताउनुभयो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य समाजवाद भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले उक्त लक्ष्य निकट भविष्यमा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिका निर्वाचनमा कोशी प्रदेशका जिल्लामा एमालेले हासिल गरेको सफलताको स्मरण गर्दै अध्यक्ष ओलीले गत फागुन २१ गतेको निर्वाचन परिणाम दुःखद भएको बताउनुभयो।
पार्टीले आफ्ना कमी–कमजोरी सच्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘पार्टी नबदल्ने, भोट बदल्ने ! त्योभन्दा लज्जाजनक कुरा के हुन्छ?’
उहाँले सामाजिक सञ्जाललगायत उपलब्ध साधन स्रोतलाई पार्टीको हितमा अर्थपूर्ण रूपमा प्रयोग गर्न पनि नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। निराशा र हतोत्साह त्यागेर उच्च मनोबलका साथ पार्टी काममा सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो।
अनेमसंघ कोशी प्रदेशको दोस्रो सम्मेलन सफलताको शुभकामना दिँदै अध्यक्ष ओलीले सुयोग्य, सक्रिय र क्षमतावान नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। उहाँले सम्मेलनलाई अर्थपूर्ण उपलब्धिसहित सम्पन्न गर्नसमेत शुभकामना दिनुभयो।














प्रतिक्रिया दिनुहोस्