म्याग्दी, भदौ ८ । बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सीमामा रहेको दुखुखोलाको मोटरेबल पुल कटानका कारण जोखिममा परेको छ ।
दुखुखोलामा आएको बाढी पुलको संरचनामुनिबाट बग्न थालेपछि पुल भासिने जोखिम बढेको हो । मङ्गला गाउँपालिकातर्फको पुलको जगमुनिबाट खोला बग्न थालेको र पहुँचमार्गसमेत कटान भएर साँघुरिएको स्थानीयले बताएका छन् ।
मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाका अनुसार पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरिरहेको छ । उहाँले यात्रुवाहक सवारीसाधन तथा जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रकसमेत आवतजावत गर्ने भएकाले जुनसुकै बेला पुल भासिएर दुर्घटना हुने जोखिम रहेको बताउनुभयो ।
उहाँका अनुसार पुलमा क्षति पुगे मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँगको सिधा यातायात सम्पर्क प्रभावित हुने सम्भावना छ ।
सङ्घीयता कार्यान्वयनअघि तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको उक्त पुल २० मिटर लामो र ६ मिटर फराकिलो छ । रु. दुई करोड छ लाख लागतमा निर्माण भएको पुल २०७६ सालमा सञ्चालनमा आएको थियो ।
यसैबीच, पूर्वाधार विकास कार्यालयले दुखुखोला सडक पुल संरक्षणको काम सुरु गरेको जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार डोजर परिचालन गरी खोला डाइभर्सन गर्ने तथा पर्खाल निर्माण गरेर पुलको पिलर र पहुँचमार्ग संरक्षण गर्ने काम थालिएको छ ।














प्रतिक्रिया दिनुहोस्