जनता टाइम्स

८ भाद्र २०८३, सोमबार ०८:०९

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै


हेटौंडा, भदौ ८। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री थापामगरको आफ्नै दल नेकपा एमालेले पनि प्रदेश सभा सदस्यलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र भने विवाद कायमै छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै आफ्ना प्रदेश सभा सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ ।

तर, सरकारलाई समर्थन गरेको पक्षका खानेपानीमन्त्री राजु विष्टले तामाङलाई सरकार गठन हुनुअघि नै सचेतकबाट हटाइएको दाबी गर्नुभएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाएको बताइएको छ ।

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा मगर गत ४ भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठनमा राप्रपाले दिएको समर्थनलाई लिएर भने पार्टीभित्र विवाद चर्किएको थियो ।

राप्रपाले पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको छ । सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।

राप्रपाका १२ प्रदेश सभा सदस्य विश्वासको मतका क्रममा कसरी प्रस्तुत हुन्छन् भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ ।