लमजुङ, भदौ ८ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा आयोजित १३औँ बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा आवश्यक सुधार र पुनर्गठन गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र भएका गल्ती तथा कमजोरी स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले विगतका कमजोरीको समीक्षा गरी पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पनि पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने उहाँहरूको भनाइ थियो ।
जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा जिल्ला कमिटीबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रम, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो ।
बैठकसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्