जनता टाइम्स

८ भाद्र २०८३, सोमबार ०८:२३

अरनिको र बीपीसहित प्रमुख राजमार्ग अवरुद्ध, कहाँको सडक अवस्था कस्तो ?


काठमाडौं, भदौ ८ । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार भदौ ८ गते बिहान ६ः२० बजेसम्म कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिममा मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भए पनि वैकल्पिक मार्गमार्फत एकतर्फी यातायात सञ्चालनमा रहेको छ। मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ। बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटञ्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिनेछ।

कान्तिलोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर तथा टोखा–छहरे सडकखण्डको शिवपुरी–८ घट्टेखोलामा पनि जोखिमका कारण साँझदेखि बिहानसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा गोसाइँकुण्ड गाउँपालिका–२ स्याउ पार्किङ क्षेत्रमा पहिरोका कारण पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण थप सडकखण्डमा समेत बाढी तथा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्र आवागमन गर्न प्रहरीले आग्रह गरेको छ।