जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २०:२६

रामेछाप नगरपालिकाद्वारा वार्षिक कार्यक्रमको समीक्षा


रामेछाप, भदौ ८ । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको छ। नगरपालिकाले सोमबार आर्थिक वर्षभरि सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको हो।

समीक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिकाअन्तर्गतका नौवटै वडाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका योजना, कार्यक्रम तथा गतिविधिबारे जानकारी गराएका थिए। शाखा तथा वडाबाट प्रस्तुत विवरणमा विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकासलगायतका क्षेत्रमा भएका प्रगति र उपलब्धिबारे जानकारी दिइएको थियो।

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख खड्काले रामेछाप नगरपालिकाले वडास्तरमा सञ्चालन भएका कार्यक्रमसमेत प्रस्तुत गरी समीक्षा गरेर नयाँ कामको सुरुवात गरेको बताउनुभयो। उहाँले यस्ता अभ्यासले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै व्यवस्थाप्रति नागरिकको विश्वास बढाउन सहयोग पुग्ने बताउनुभयो।

नगर प्रमुख न्यौपानेले आफ्नो नेतृत्वको टिमले चार वर्षको अवधिमा नगरको विकास र समृद्धिका लागि सक्दो काम गरेको बताउनुभयो। सीमित साधन र स्रोतका बाबजुद धेरै काम गरिएको उल्लेख गर्दै उहाँले स्रोतको अपर्याप्तताका कारण अपेक्षाअनुसार सबै काम गर्न नसकिएको स्वीकार गर्नुभयो।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै नगर उपप्रमुख बालाकुमारी कार्कीले नगरपालिकाले रचनात्मक सुझाव तथा आलोचनालाई सधैँ सकारात्मक रूपमा लिने बताउनुभयो। उहाँले आगामी दिनमा नगरपालिकाको कामलाई थप प्रभावकारी बनाउन सुझाव र आलोचनाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले समीक्षा क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको बताउँदै ती सुझावलाई सम्भव भएसम्म कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगरपालिकाका वरिष्ठ शाखा प्रमुख सुन्दर थापाका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले विशेषगरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। नागरिकको आवश्यकता तथा स्थानीय प्राथमिकताका आधारमा विकास निर्माण र सेवा प्रवाहका कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

समीक्षा कार्यक्रममा शाखा तथा वडाबाट प्रस्तुत प्रगति विवरणमाथि छलफल गर्दै आगामी दिनमा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, देखिएका समस्या तथा कमजोरी सुधार गर्ने र नागरिकलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरस्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा पत्रकारलगायतको सहभागिता थियो।