काठमाडौं, भदौ ८ । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङमार्ग आजदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ।
सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलगायत निजी सवारीसाधनलाई सुरुङमार्फत काठमाडौं–धादिङ आवतजावत गर्न अनुमति दिइएको हो।
यसअघि उद्घाटनपछि आपतकालीन सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। अहिले इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीसाधनलाई परीक्षणका रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो।
हाल सुरुङमार्ग प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने जनाइएको छ। सुरुङ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सोमबार बिहानदेखि सञ्चालनमा ल्याइएको छ।
सुरुङभित्र सवारी चलाउँदा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन नपाइने, हेडलाइट बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न तथा ओभरटेक गर्न नपाइने नियम लागू गरिएको छ।
सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा तथा शुल्क संकलन युनिट परिचालन, सीसीटीभी निगरानीलगायत आवश्यक तयारी भइरहेको सुरक्षा युनिटले जनाएको छ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गर्नुभएको थियो। कोभिड–१९ महामारी तथा मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भएको थियो।














प्रतिक्रिया दिनुहोस्