काठमाडौं, भदौ ८ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान समारोह’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबैको साझा प्रयासबाट मात्रै न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण सम्भव हुने बताउनुभयो।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नागरिकको अपेक्षाअनुसार देश विकास गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा निराशा र आवेगभन्दा आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको जिम्मेवारी पूरा गर्न सबै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
जनताले झन्झटरहित रूपमा छिटोछरितो सेवा पाउनु, निर्णय प्रक्रियामा पारदर्शिता कायम हुनु, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार र विधिको शासन सुनिश्चित हुनु नै राज्यको वास्तविक सफलताको आधार भएको उहाँले स्पष्ट पार्नुभयो।














प्रतिक्रिया दिनुहोस्