जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २०:५६

राप्रपाले बागमतीका मन्त्री रहेका तीन सांसदलाई पदमुक्त गर्‍यो


काठमाडौं, भदौ ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारमा मन्त्री रहेका आफ्ना तीन सांसदलाई कारबाही गर्दै पदमुक्त गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रको पटक–पटकको निर्देशन, ह्विप तथा केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय उल्लंघन गरेको पाइएपछि राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको हो।

केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा तीनै जनालाई सोमबार पदमुक्त गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

उनीहरूलाई कारबाही गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दर्ता गराउनुका साथै उपसभामुखलाई समेत जानकारी गराइएको राप्रपाले जनाएको छ।

यसअघि राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि पदमुक्त गरेको थियो। पार्टी केन्द्रको निर्देशनविपरीत थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बन्न समर्थन गरेपछि राप्रपाले कारबाही गरेको थियो।

बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राप्रपाभित्र लामो समयदेखि विवाद रहँदै आएको छ।