काठमाडौं, भदौ ८ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रत्यक्ष प्रश्न सोध्न अरूचि देखाएका छन्।
भदौ १० गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। सभामुख डोलप्रसाद अर्यालले भदौ ५ गतेसम्म सांसदहरूलाई प्रधानमन्त्रीलाई सोध्ने प्रश्न दर्ता गर्न समय दिनुभएको थियो।
सभामुखले प्रतिनिधिसभामा रहेका सबै दललाई कम्तीमा एक प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा निर्धारण गर्ने व्यवस्था मिलाउनुभएको थियो। जसअनुसार रास्वपाका सांसदले सातवटा प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गराएका छन्।
रास्वपाबाट अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले मात्रै प्रश्न दर्ता गराएका छन्। यससँगै रास्वपाका थप चार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर पाउने भए पनि उनीहरूले प्रश्न दर्ता नगरेको देखिएको छ।
प्रश्न दर्ता गराउनेमध्ये अमरेशकुमार सिंह पछिल्लो समय सरकारका आलोचकका रूपमा देखिनुभएको छ। उहाँले सरकारको प्रभाव र जनविश्वास घट्दै गएको तथा सरकार गठनपछि अराजकता बढेको टिप्पणी गर्दै आउनुभएको छ।
समीक्षा बास्कोटा कानुन, न्याय तथा मानव अधिकार समिति र कृष्णहरि बुढाथोकी अर्थ समितिका सभापति हुनुहुन्छ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना तथा नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न दर्ता गराएका छन्।
त्यस्तै श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न दर्ता गराएका छन्।
रास्वपाका बाँकी सांसदहरूले प्रश्न दर्ता नगर्नुको कारण भने खुलेको छैन। जबकि रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले संसद्मा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने धारणा राख्दै आउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्