जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २१:०२

कोशी कटानपीडितको समस्या समाधान गर्न ‘साष्टाङ्ग दण्डवत’ गर्न पनि तयार छु : सांसद गेलाल


काठमाडौं, भदौ ८ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारशमणि गेलालले कोशी कटानका कारण विस्थापित परिवारको समस्या समाधानका लागि आफू मन्त्रीहरूलाई भेटेर ‘साष्टाङ्ग दण्डवत’ गर्नसमेत तयार रहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गेलालले कोशी कटानका कारण २२ परिवार विस्थापित भएर कोशी आधारभूत विद्यालयमा बस्न बाध्य भएको १५ दिन बितिसक्दा पनि सरकारले समस्या समाधानमा पर्याप्त ध्यान नदिएको गुनासो गर्नुभयो।

उहाँले भन्नुभयो, ‘म कुन–कुन मन्त्रालयमा गएर कुन–कुन मन्त्रीलाई भेटेर साष्टाङ्ग दण्डवत गर्नुपर्ने हो, नागरिकको तर्फबाट त्यो गर्न तयार छु।’

सांसद गेलालले कोशी क्षेत्रमा बाँध तथा ड्याम निर्माण रोक्नुको कारणबारे समेत सरकारसँग जवाफ माग्नुभयो।

विस्थापित परिवारका अभिभावकहरूको भरोसाको केन्द्र प्रधानमन्त्री वालेन्द्र शाह रहेको उल्लेख गर्दै उहाँले कोशी कटानपीडितको समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

आफूले यसअघि विभिन्न मन्त्रीलाई मौखिक रूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो। प्रधानमन्त्रीको कार्यालयमा आधिकारिक पत्रसमेत दर्ता गराइसकेको जानकारी दिँदै उहाँले पुनः सरकारको ध्यानाकर्षण गराउनुभयो।