काठमाडौं, ८ भदौ । सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
पक्राउ पुर्जी जारी भएपछि केही समयदेखि फरार रहेका यादव सोमबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा आफैं उपस्थित भएका हुन् । उनलाई अनुसन्धानका लागि आवश्यक म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यादवविरुद्ध पोखरी निर्माणका क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
यादवका नाममा गत साउन २० गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीविरुद्ध उनी उच्च अदालत पुगे पनि अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खोलेपछि उनी केही समयदेखि प्रहरीको खोजीमा थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतापपुर गाउँपालिका अध्यक्षमा निर्वाचित यादवमाथिको आरोपबारे प्रहरीले थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्