जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २१:०७

गरिमा हत्या प्रकरण : अनुसन्धानको दायरामा ९ जना, प्रहरीको ‘क्लोज सर्कल’ अनुसन्धान तीव्र


काठमाडौं, भदौ ८ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त प्रमाण, आपसी सम्पर्क तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकामाथि अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक चरणमा जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र एक १६ वर्षीय नाबालक पक्राउ परेका थिए । कानुनी प्रावधानका कारण प्रहरीले नाबालकको पहिचान सार्वजनिक गरेको छैन ।

त्यसपछि अनुसन्धानका क्रममा इन्द्रजित चौधरी, पुष्पा चौधरी, ममता चौधरी, शेख हुस्मुदिन आलम, टेकबहादुर थापा मगर र नवीन वि.क. पक्राउ परेका छन् । पछिल्लो चरणमा जीतपुरसिमरा–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्का पनि पक्राउ परेका छन् ।

यससँगै घटनामा पक्राउ पर्नेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । बारा जिल्ला अदालत कलैयाबाट पहिलो चरणमा ४ दिन र दोस्रो चरणमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरी अनुसन्धान घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकामाथि केन्द्रित हुँदै थप साँघुरो घेरातर्फ अघि बढेको देखिएको छ । पक्राउ परेकाहरूबीचको सम्बन्ध, घटनाअघिको गतिविधि, आपसी सम्पर्क र घटनापछिको व्यवहारसमेत अनुसन्धानको महत्वपूर्ण आधार बनेका छन् ।

यसैबीच मुख्य आरोपित भनिएका नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियाको गोपनीयता र बाल न्यायसम्बन्धी व्यवस्थामाथि प्रश्न उठेको छ ।

भिडियो सार्वजनिक भएको विषयमा प्रहरी प्रधान कार्यालयले समेत अनुसन्धान थालेको छ । भिडियो लिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

घटनामा संलग्नता पुष्टि हुन बाँकी रहेकाले पक्राउ परेका सबैलाई हाल अनुसन्धानका क्रममा रहेका व्यक्तिका रूपमा मात्र हेरिएको प्रहरीले जनाएको छ ।