जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २१:१३

युवाको भावना नबुझी राजनीतिक दलको पुनर्जागरण सम्भव छैन : शंकर पोखरेल


काठमाडौं, भदौ ८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना परिमार्जन गर्नुपर्ने बताउनुभएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत नयाँ पुस्ताको भावना र अपेक्षालाई सम्बोधन गर्न नसके विगतका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने बताउनुभएको हो।

उहाँले समयको मागअनुसार राजनीतिक दलहरू युवामैत्री बन्नुपर्ने र युवाका भावनालाई आत्मसात् गर्दै उनीहरूलाई योजनाबद्ध रूपमा पार्टी तथा राजनीतिक आन्दोलनमा जोड्नुपर्नेमा जोड दिनुभयो।

पोखरेलले लेख्नुभएको छ, ‘समयको माग यही हो— युवामैत्री बनौँ, युवाका भावनालाई आत्मसात् गरौँ र उनीहरूलाई योजनाबद्ध रूपमा पार्टी तथा आन्दोलनमा जोडौँ।’

उहाँले प्रविधिको तीव्र विकाससँगै युवापुस्ताको सोच, व्यवहार र राजनीतिक अपेक्षामा आएको परिवर्तनलाई दलहरूले गम्भीर रूपमा बुझ्नुपर्ने धारणा राख्नुभएको छ।