काठमाडौं, भदौ ८ । नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभएको छ।
संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले पछिल्लो समय भएका जघन्य तथा अमानवीय घटनाले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताउनुभयो।
उहाँले तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या तथा सिराहालगायतका जिल्लामा भएका क्रूर घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो। नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन नसक्दा अपराधीको मनोबल बढेको उहाँको भनाइ छ।
निर्मला पन्त हत्याकाण्डको स्मरण गर्दै अर्यालले उक्त घटनामा चरम राजनीतिकरण भएको र प्रमाण नष्ट गरिएका कारण अपराधी अझै कानुनी दायरामा आउन नसकेको दाबी गर्नुभयो।
उहाँले वर्तमान सरकार र गृह प्रशासनले विगतमा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै आलोचना गर्नुभयो।
अर्यालले अपराधीलाई कडा कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन विद्यमान कानुनको पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। कानुन संशोधन वा नयाँ कानुन निर्माणका विषयमा व्यापक छलफल र अध्ययन गरी कडा कानुनी मापदण्ड तय गर्नुपर्ने उहाँको भनाइ छ।
पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्न अपराधीलाई शीघ्र पहिचान गरी कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गर्दै उहाँले शान्ति सुरक्षाको मामिलामा सरकार लाचार देखिएको आरोप लगाउनुभयो। साथै, उहाँले गृह प्रशासनको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्