काठमाडौं, भदौ ८ । बाराको जीतपुरसिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा बालकसँग लिइएको संवेदनशील भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेका छन्। अनुसन्धानका क्रममा अस्पतालको ओसीएमसी कक्षमा बालकसँग सोधपुछ गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको थियो।
घटनाको चौतर्फी आलोचना भएपछि बारा प्रहरीले भिडियो सार्वजनिक गर्न हवल्दार विकको संलग्नता रहेको पुष्टि गरेको हो। आफ्नै कर्मचारी संलग्न रहेको पाइएपछि प्रहरीले विकमाथि आन्तरिक छानबिनसँगै कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैबीच, गरिमा चौधरी बलात्कार तथा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ। बारा प्रहरीका अनुसार आइतबार राति थप एक जनालाई नियन्त्रणमा लिएसँगै अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिको संख्या नौ पुगेको हो।
पछिल्लो पटक पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का विद्यार्थी प्रदीप खड्का रहेका छन्। प्रहरीले घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूमाथि अनुसन्धान जारी राखेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्