जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २१:२५

बलात्कारी र भ्रष्टाचारीलाई गोली ठोक्ने कानुन बनाउन सांसद सुनारको माग


काठमाडौं, भदौ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारमा प्रमाणित दोषीलाई घटनास्थलमै गोली हान्ने कानुन बनाउन माग गर्नुभएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुनारले पछिल्ला वर्षहरूमा भएका बलात्कार तथा हत्याका घटनाको स्मरण गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो।

उहाँले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियारलगायतका घटनाको उदाहरण प्रस्तुत गर्नुभयो। हालै बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले पनि समाजलाई गम्भीर बनाएको उहाँको भनाइ थियो।

सांसद सुनारले पीडितको नाम लिएर संसद्मा लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने विषयमा गम्भीर हुन जरुरी छ। चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ।’

बलात्कार र भ्रष्टाचारमा प्रमाणित दोषीमाथि कुनै सम्झौता गर्न नहुने भन्दै उहाँले ‘अन द स्पट’ कारबाही हुने कानुनी व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गर्नुभयो।