जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २१:२८

लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट थपिए तीन मन्त्री


काठमाडौं, भदौ ८ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो।

पुनर्गठनसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री थपिएका छन्। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने तय गरिएको छ।

पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जना र जनता समाजवादी पार्टी नेपालबाट दुई जना मन्त्री रहने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।