जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ०७:३५

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, भदौ ९। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्य बदलीको अवस्था छ। हाल बागमती, गण्डकीसहित कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा मधेसका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही तथा मधेस र कोशीका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना रहे पनि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात, पर्यटन र पर्वतारोहणसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ।