जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ०७:५०

राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी–बागमतीका सांसद पदमुक्त भएका छैनन्


काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा राप्रपाबाट निर्वाचित सांसदहरू पदमुक्त नभएको दाबी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पार्टीले सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको बताउनुभएको हो। निवेदन दिँदैमा सांसद पदमुक्त नहुने उहाँको भनाइ छ।

शाहीले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसदहरूलाई पदमुक्त भएको भन्न नमिल्ने दाबी गर्नुभएको छ।

‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन, सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पनि पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ उहाँले भन्नुभएको छ।

पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले समेत तथ्य नबुझी गलत सूचना फैलाउन थालेको भन्दै यसले पार्टीलाई बलियो नबनाउने उहाँको टिप्पणी छ।

शाहीले पार्टीले कारबाही गर्न सक्ने भए पनि कारबाहीको निवेदन दिएकै आधारमा सांसद पदमुक्त भएको मान्न नसकिने बताउनुभएको छ। उहाँले ती सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत रहेको उल्लेख गर्दै भावनाभन्दा तथ्यमा आधारित भएर बोल्न आग्रह गर्नुभएको छ।