जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ०८:१०

नेपालगन्जका दुई स्पाबाट तीन सञ्चालक पक्राउ, सात किशोरीको उद्धार


नेपालगन्ज, भदौ ९ । प्रहरीले नेपालगन्जमा सञ्चालित दुईवटा स्पाबाट तीन जना सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानको आयुर्वेदिक रिल्याक्स स्पाका सञ्चालक दुर्गा थारू र नेपालगन्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा पक्राउ पर्नुभएको हो।

प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नुभएका तीनै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले ती स्पामा कार्यरत सात किशोरीलाई समेत उद्धार गरेको जनाएको छ। विशेष सूचनाका आधारमा स्पामा जाँच गर्दा उनीहरू फेला पर्नुभएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका किशोरी तथा पक्राउ पर्नुभएका सञ्चालकको अवस्थाबारे बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले शनिबार तीनै जना सञ्चालकलाई पक्राउ गरेको हो। पछिल्लो समय नेपालगन्ज क्षेत्रमा स्पा सेन्टरको संख्या बढ्दै गएको छ।