काठमाडौं, भदौ ९ । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसहित सांसदहरूले कालो चस्मा लगाउनुपर्ने भए स्वास्थ्य परीक्षणको रिपोर्ट आवश्यक पर्ने बताउनुभएको थियो। त्यसपछि प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षणसम्बन्धी विवरण संसद् सचिवालयमा पठाइएको हो।
प्रधानमन्त्री शाहले गत २२ साउनमा छाउनी अस्पतालमा आँखाको परीक्षण गराउनुभएको थियो। परीक्षणका क्रममा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि कालो चस्मा प्रयोग गर्नुपर्ने अस्पतालले जनाएको थियो। सोसम्बन्धी रिपोर्ट २६ साउनमा संसद् सचिवालयमा पठाइएको बताइएको छ।
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्न दर्ता गराउनुपर्ने व्यवस्था छ। सोहीअनुसार ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा व्यवस्था गरिएको छ। नियमावलीअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि निर्धारण गर्न सकिने व्यवस्था छ।
यसअघि सभामुख अर्यालले प्रधानमन्त्रीलाई कालो चस्मा नलगाउन आग्रह गर्नुभएको थियो। स्वास्थ्य कारणले कालो चस्मा लगाउनुपर्ने भए त्यसको आधिकारिक स्वास्थ्य रिपोर्ट प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।














प्रतिक्रिया दिनुहोस्