काठमाडौं, ९ भदौ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
धनगढीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गणमा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले नेपाल सरकारको नीति तथा निर्देशनअनुसार जिम्मेवारी निर्वाह गर्न प्रदेश र जिल्लास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको हो।
उहाँले नागरिकबाट गुनासो नआउने गरी इमानदार, सक्रिय र व्यावसायिक ढङ्गले काम गर्न आग्रह गर्नुभयो। आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण तथा लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै सीमा अपराध, अवैध चोरी–पैठारी तथा निकासी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो।
महानिरीक्षक पौडेलले नेपाल सरकारको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो।
पछिल्लो समय युवा वर्ग लागुऔषधको कुलतमा फस्दै गएको उल्लेख गर्दै उहाँले लागुऔषधको ओसारपसार नियन्त्रणमा सशक्त रूपमा परिचालन हुन निर्देशन दिनुभयो। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन क्रमशः सीमालाई डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
ड्युटीमा खटिँदा नीति, नियम, कानुन तथा आचारसंहिता पालना गर्न निर्देशन दिँदै उहाँले उल्लङ्घन गर्ने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी दिनुभयो। मौसमी विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि आम नागरिकसँग २४सै घण्टा समन्वय र सम्पर्कमा रहन तथा आवश्यक सामग्रीसहित तत्काल परिचालन हुन पनि उहाँले निर्देशन दिनुभयो।
महानिरीक्षक पौडेलले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको वर्तमान सुरक्षा अवस्था तथा सुरक्षा व्यवस्थापनबारे छलफल गर्नुभएको थियो।
यसअघि उहाँले कैलालीस्थित गौरीफन्टा नाकाको निरीक्षण गरी सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको थियो। निरीक्षणका क्रममा उहाँले सीमासम्बन्धी समस्या, अपराध नियन्त्रण तथा नागरिक सुरक्षाका विषयमा सशस्त्र प्रहरी गम्भीर रहेको बताउनुभएको थियो।
महानिरीक्षक पौडेलले सोमबार सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया तथा कैलालीका सीमावर्ती क्षेत्रका विभिन्न सीमा सुरक्षा गुल्म र नाकाको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो। साथै उहाँले सीमाक्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरी सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण धनगढीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्