जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार २१:०२

लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए शपथ


काठमाडौं, भदौ ९ । लुम्बिनी प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

मंगलबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो। मन्त्रिपरिषद् पुनर्गठनसँगै केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ।

एमाले, नेकपा र जसपाबीचको सत्ता सहकार्यअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बनेको हो।