काठमाडौं, भदौ ९। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीको पराजयका प्रमुख कारण पहिचान गरेको छ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा एमालेले अघिल्लो निर्वाचनको तुलनामा ५३ सिट गुमाउँदै २५ सिटमा सीमित हुनुका विभिन्न कारण उल्लेख गरिएको छ। कार्यदलले यसपटकको पराजयलाई पार्टी जीवनकै गम्भीर र लज्जास्पद धक्का भएको विश्लेषण गरेको छ।
प्रतिवेदनअनुसार एमालेको चुनावी पराजयका प्रमुख कारण यस्ता छन् :
१. आमजनतामा बढेको असन्तोष र अविश्वास
माओवादी र कांग्रेससँग पटक–पटक भएको सत्ता समीकरण परिवर्तन, त्यसको औचित्य पुष्टि गर्न नसक्नु, सरकारमा रहँदा सुशासन कायम गर्न नसक्नु तथा जनताका माग सम्बोधनमा कमजोरी हुनु प्रमुख कारणका रूपमा औँल्याइएको छ। कतिपय मन्त्री तथा जनप्रतिनिधि भ्रष्टाचार र अनियमितताको आरोपमा मुछिँदा पनि समयमै नियन्त्रण गर्न नसकिएको कार्यदलको निष्कर्ष छ।
२. जीवनस्तर र वैध आयबीचको असन्तुलन
नागरिकको जीवनस्तर र आकांक्षा बढे पनि सोहीअनुसार रोजगारी तथा स्वरोजगारीका अवसर विस्तार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। सहरी बेरोजगारी, युवाको वैदेशिक पलायन, वैध आम्दानीका अवसरको अभाव, कालोबजारी तथा तस्करी मौलाउनु पनि जनअसन्तोषको कारण बनेको बताइएको छ।
३. भदौ २३ र २४ को घटनाको प्रभाव
भदौ २३ र २४ गतेका घटनाले स्थापित राजनीतिक दलप्रति नकारात्मक धारणा बढाएको कार्यदलको विश्लेषण छ। आन्दोलनमा भएको मानवीय क्षति, त्यसपछिको राजनीतिक घटनाक्रम तथा एमालेले घटनालाई हेर्ने दृष्टिकोण जनस्तरमा स्थापित हुन नसक्दा पार्टी थप रक्षात्मक अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ।
४. भूराजनीतिक चलखेल र डिजिटल एल्गोरिदम
कार्यदलले भूराजनीतिक चलखेल तथा सामाजिक सञ्जालमा प्रयोग भएका डिजिटल एल्गोरिदमले पनि एमालेविरुद्ध जनमत निर्माण गर्न भूमिका खेलेको उल्लेख गरेको छ। चुनावका क्रममा एमालेको डिजिटल उपस्थिति कमजोर रहेको र एआईको गलत प्रयोगले समेत पार्टीका एजेन्डालाई ओझेलमा पार्न भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।
५. नीतिगत अलमल र शासकीय कमजोरी
सत्ता टिकाउन केन्द्रित हुँदा पार्टीका घोषित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको कार्यदलको निष्कर्ष छ। बजेट निर्माण, दैनिक सेवा प्रवाह, शिक्षक तथा कर्मचारीका माग सम्बोधन, रासायनिक मलको अभाव, किसानको भुक्तानी तथा भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानमा देखिएको कमजोरीले जनाधार प्रभावित भएको उल्लेख छ।
६. आन्तरिक असन्तुष्टि, सांगठनिक बेथिति र गुटबन्दी
महाधिवेशनमा प्यानल बनाएर भएको प्रतिस्पर्धा, उम्मेदवार छनोटमा पारदर्शिताको अभाव, निर्णय पटक–पटक परिवर्तन हुनु तथा नेतानजिक रहेकालाई टिकटमा प्राथमिकता दिएको आरोपले कार्यकर्तामा असन्तुष्टि बढाएको प्रतिवेदनमा उल्लेख छ। विगतका निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि कारबाही नहुँदा संगठनमा अराजकता बढेको र त्यसको असर चुनावमा परेको कार्यदलको निष्कर्ष छ।














प्रतिक्रिया दिनुहोस्