जनता टाइम्स

१० भाद्र २०८३, बुधबार ०७:४६

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै


काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिँदै हुनुहुन्छ। प्रतिनिधिसभा नियमावलीमा रहेको व्यवस्थाअनुसार प्रधानमन्त्री शाह पहिलोपटक औपचारिक रूपमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसद्मा उपस्थित भई सांसदहरूले दर्ता गराएका लिखित प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह सांसदहरूको प्रश्नको जवाफ दिन संसद्मा उपस्थित हुनुभएको थियो। त्यसयता उहाँ प्रश्नोत्तर कार्यक्रममा उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले भदौ १ गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्नुभएको थियो।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका गरी ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्दै हुनुहुन्छ।

सांसदहरूले मुख्य रूपमा जेठ १७ गते संसद्मा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्ति विवादमा परेकाले त्यसबारे स्पष्ट पार्न, सरकारको तीनमहिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन, समसामयिक विकास निर्माण तथा संसद्प्रति सरकारको जवाफदेहितालगायत विषयमा प्रश्न दर्ता गराएका छन्।

यसैबीच, प्रधानमन्त्री शाहले चिकित्सकको परामर्शअनुसार संसद्मा कालो चस्मा लगाएर उपस्थित हुने पूर्वजानकारी संसद् सचिवालयलाई गराउनुभएको छ। वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा हेर्न कठिनाइ हुने समस्याका कारण उहाँलाई सनग्लास र आई ड्रप प्रयोग गर्न सिफारिस गर्नुभएको थियो।

संसद्मा मर्यादा र पोसाकसम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्री शाहले चिकित्सकको सिफारिससहितको पत्र संसद् सचिवालयमा पठाउनुभएको हो।