जनता टाइम्स

१० भाद्र २०८३, बुधबार ०८:००

बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते


सिन्धुली, भदौ १०। सिन्धुलीको कमलामाई नगरपालिका–२, ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार मंगलबार साँझ करिब ६ः२० बजे इटहरीबाट काठमाडौं जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल ढुंग्रेभञ्ज्याङ क्षेत्रमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–५ निवासी १९ वर्षीय राजु यादव र पछाडि सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते हुनुभएको थियो। स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, सिन्धुली लगिएको थियो।  उपचारका क्रममा मोटरसाइकल चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ। महतोको चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेका सवारीसाधनमध्ये कुनै एकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ३९ वर्षीय केशव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसहित उहाँलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।