जनता टाइम्स

१० भाद्र २०८३, बुधबार ०८:०८

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै


काठमाडौँ, भदौ १० । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मुस्लिम समुदायले पैगम्बर मोहम्मदको उपदेश तथा योगदानलाई स्मरण गर्दै जन्मजयन्ती मनाउने गरेका छन् । यस अवसरमा आज विभिन्न स्थानमा र्‍याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ ।

काठमाडौँस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायतका स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

मुस्लिम समुदायले मोहम्मदलाई आफ्नो सन्देष्टाका रूपमा मान्ने गरेका छन् । इस्लाम धर्ममा उहाँका शिक्षा र उपदेशलाई महत्वपूर्ण मानिन्छ ।

पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि उहाँ मदिना जानुभएको थियो । मक्का र मदिना इस्लाम धर्मावलम्बीका प्रमुख पवित्रस्थलका रूपमा रहेका छन् ।

इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा मक्कालाई मानिन्छ । मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक मक्कामा हज गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।

सरकारले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि मात्र आज सार्वजनिक बिदा दिएको छ ।