काठमाडौँ, भदौ १० । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, आपसी हित र सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलगायत विषयमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै असमझदारीका विषय नरहेको बताउनुभयो ।
अध्यक्ष दाहालले गत वर्ष भएको व्यापार तथा लगानीसम्बन्धी सम्झौताले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ गति दिने विश्वास व्यक्त गर्नुभयो । संघीय संसद्ले नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह स्थापना गरेको जानकारी दिँदै उहाँले संसदीय अनुभव आदानप्रदान, नियमित अन्तरक्रिया तथा द्विपक्षीय भ्रमणले सम्बन्ध थप बलियो बनाउने बताउनुभयो ।
अन्तरव्यवस्थापिका संघ (आईपीयू) का विभिन्न सम्मेलनका क्रममा अस्ट्रेलियाली संसदका सभामुखसँग भएका भेटघाटले संसदीय सम्बन्ध विस्तारमा सहयोग पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा संसदीय कूटनीतिमार्फत दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।
उहाँले जनस्तरमा विकसित सम्बन्ध नेपाल–अस्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधार रहेको बताउँदै उच्च शिक्षाका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य बनेको उल्लेख गर्नुभयो । हजारौँ नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरिरहेको तथा ठूलो संख्यामा नेपाली रोजगारी र विभिन्न पेसामा आबद्ध रहेको उहाँले बताउनुभयो ।
अस्ट्रेलियाली नागरिकको नेपाल भ्रमण बढाउन राजदूतको कार्यकालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै, नेपाल–अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले अस्ट्रेलियाले नेपालको आर्थिक विकास, प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा गरेको मानवीय सहयोगको सराहना गर्नुभयो ।
भेटमा राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटका लागि धन्यवाद दिँदै नेपालमा आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ निकट र बलियो बनाउन प्रयास गर्ने बताउनुभयो ।
राजदूत अर्न्स्टले नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्धका साथै जनस्तरमा समेत बलियो सम्बन्ध रहेको बताउँदै हाल ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलियामा रहेको र २ लाखभन्दा बढी नेपाली त्यहाँ रहेको जानकारी दिनुभयो ।
दुई देशबीचको साझेदारीका विभिन्न क्षेत्रमध्ये संसदीय मैत्री समूह महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दुवै देशका संसद्बीच अनुभव आदानप्रदानमा मैत्री समूहले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्