गोरखा, भदौ १० । गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएका ३३ जना यात्रु बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ ।
पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्राका लागि दुईवटा माइक्रोबस र एउटा बसमा यात्रुहरू जानुभएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुईवटा माइक्रोबसमा सवार यात्रुहरू भने सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । तर, एउटा बसमा सवार यात्रुहरूको अवस्था अझै अज्ञात रहेको उहाँले बताउनुभयो ।
उपप्रमुख पाण्डेका अनुसार उक्त बसमा सवार चार जना यात्रुले केही समयअघि बसबाट हाम्फालेर आफूहरू सुरक्षित रहेको जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँहरूसँग पनि सम्पर्क हुन सकेको छैन ।
नगरपालिकाले सम्पर्कविहीन यात्रुहरूको अवस्थाबारे विभिन्न निकायसँग समन्वय गरी खोजी तथा सोधखोज गरिरहेको जनाएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले पनि पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएका यात्रुहरू सम्पर्कविहीन हुनुभएको जानकारी प्राप्त भएको बताउनुभयो ।
उहाँका अनुसार ३८ जना सवार रहेको बसबाट पाँच जना हाम्फालेर ज्यान जोगाउन सफल हुनुभएको प्रारम्भिक जानकारी छ । बाँकी ३३ जनाको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।
“३८ जना सवार रहेको बसबाट पाँचजना हाम्फालेर बच्नुभएको र बाँकीको अवस्था अज्ञात छ,” प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “हामीले गृह मन्त्रालय र नुवाकोटसँग समन्वय गरेर उहाँहरूको अवस्थाबारे खोजी गरिरहेका छौँ।”
बुधबार बिहान तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा आएको ठूलो बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा सम्पर्कविहीन यात्रुहरूको खोजीमा समेत कठिनाइ भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्