काठमाडौं, भदौ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला हुने ‘भीआईपी’ आवतजावतले सुरक्षा निकायलाई थप चुनौती हुने भन्दै आफू र पार्टीका सांसदका लागि विशेष सुरक्षा व्यवस्था नगर्न आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले विपद्का समयमा सरकार आफैँ प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले अत्यावश्यक अवस्थाबाहेक आफू फिल्डमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पार्नुभयो । कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरे पनि अतिरिक्त सुरक्षा वा विशेष सुविधा नलिने उहाँको भनाइ थियो ।
“विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ । म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन,” उहाँले भन्नुभयो, “सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस् । हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ ।”
लामिछानेले आफूहरू व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने र प्रशासनको काममा कुनै किसिमको दखल नदिने बताउनुभयो ।
उहाँले विपद्का समयमा सीमान्तकृत तथा जोखिममा रहेका समुदायलाई विशेष प्राथमिकता दिन सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदाय विपद्बाट बढी प्रभावित हुने भएकाले उद्धार, राहत र पुनःस्थापनामा उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।
लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सरकारले चालेका कदमको स्वागत गर्दै विपद्का बेला नागरिकलाई सञ्चार सम्पर्कमा रहन सक्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्