जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १८:२३

बाढीपछि मोदीले प्रधानमन्त्री बालेनलाई फोन गरे, ‘नेपाललाई आवश्यक मानवीय सहयोग दिन्छौँ’


काठमाडौं, भदौ १० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहसँगको टेलिफोन संवादका क्रममा मोदीले विपद्को यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताउँदै आवश्यक उद्धार तथा राहत सामग्रीसहितको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको जानकारी दिनुभएको हो ।

मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन समयमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग पूर्ण ऐक्यबद्धताका साथ उभिएको बताउनुभएको छ ।

उहाँले नेपाललाई आवश्यक पर्ने सबै प्रकारका सम्भावित मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको उल्लेख गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीका अनुसार दुवै देशका सम्बन्धित टोलीहरू उद्धार तथा राहत कार्यका लागि निरन्तर सम्पर्कमा रहेर नजिकबाट समन्वय गरिरहेका छन् ।

रसुवाको भोटेकोशी नदीमा तिब्बती क्षेत्रबाट आएको ठूलो बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली परिचालन गरी खोज, उद्धार र राहत कार्य जारी राखिएको छ ।