जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १८:२४

भूकम्पपछि पहिरो झर्‍यो, त्यसपछि रसुवामा बाढी आएको हो : परराष्ट्रमन्त्री खनाल


काठमाडौं, १० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा भूकम्पपछि पहिरो झरेर ठूलो बाढी आएको जानकारी दिनुभएको छ ।

बुधबार प्रतिनिधिसभामा सरकारका तर्फबाट रसुवा बाढीबारे जानकारी दिँदै मन्त्री खनालले प्रारम्भिक विवरणअनुसार बिहान ८ः३७ बजे भूकम्प गएको र त्यसपछि झरेको पहिरोका कारण बाढी आएको बताउनुभयो ।

उहाँका अनुसार नेपालतर्फ बिहान ८ः४० बजे ठूलो बाढी आएको जानकारी प्राप्त भएको थियो । बाढीका कारण रसुवा र नुवाकोटका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, बट्टार, देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री खनालका अनुसार बाढीपछि टिमुरेमा कार्यरत २६ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना पनि सम्पर्कविहीन रहेको उहाँले संसद्लाई जानकारी गराउनुभयो ।

यस्तै, रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयलगायतका विभिन्न सरकारी कार्यालयमा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको र भौतिक क्षति पनि ठूलो रहेको मन्त्री खनालले जानकारी दिनुभयो ।

यसअघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा अकस्मात बाढी आएको जानकारी गराएको थियो ।

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।