जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १८:५६

रसुवा बाढीमा ३८४ पर्यटक तथा यात्रु बेपत्ता


काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २ सय ९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् । पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या तयार पारिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सबाट १७ जना, लिफ होलिडेबाट ५५ जना, कैलाश जर्नीबाट ३१ जना, एक्सप्लोर भ्याकेसन अफ ट्रेकर्स सोसाइटीबाट ९२ जना, रिक्स टिम एन्ड ट्राभल्सबाट १२ जना, थाल टुर्स एन्ड ट्राभल्सबाट २७ जना, हिमालयन ग्लेसियरबाट ५२ जना र अल्पाइन इको ट्रेकबाट २० जना बेपत्ता सूचीमा रहेका छन् ।

बेपत्ता भएकामध्ये विभिन्न मुलुकका विदेशी नागरिक तथा नेपाली यात्रु रहेको बोर्डले जनाएको छ । केही विदेशी नागरिकको राष्ट्रियता भने अझै पुष्टि हुन बाँकी रहेको छ ।

बोर्डले यो विवरण प्रारम्भिक भएकाले सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको जनाएको छ । थप प्रमाणीकरणपछि बेपत्ता व्यक्तिको संख्या तथा विवरण परिवर्तन हुन सक्ने बोर्डको भनाइ छ ।

बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुलाई नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्कमा रहन बोर्डले आग्रह गरेको छ ।

पर्यटक तथा यात्रुलाई आवश्यक सहयोगका लागि १२३४, पर्यटक प्रहरीको ११४४ हटलाइन तथा ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।