काठमाडौं, १० भदौ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण आयोजनामा कार्यरत कर्मचारीसँग सम्पर्क विच्छेद भएको लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का सचिव विजयमोहन भट्टराईले जानकारी दिनुभयो ।
उहाँले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० भन्दा बढी कर्मचारी सम्पर्कविहीन रहेकाले तत्काल खोज तथा उद्धारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
“आयोजनाको सुरुङमा कंक्रिट ढलानको काम भइरहेको थियो । सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन हुनुभएको छ । त्यसैले खोजीका लागि सरकारसँग अनुरोध गर्दछु,” भट्टराईले भन्नुभयो ।
उहाँका अनुसार बाढीले जलविद्युत् आयोजनाका संरचनामा समेत गम्भीर क्षति पुर्याएको छ । नदीको सतहभन्दा करिब १० मिटर माथि रहेको सुरुङमा समेत बाढीको असर परेको उहाँले बताउनुभयो ।
बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला लाङटाङ खोला आयोजनाका कर्मचारीसमेत सम्पर्कविहीन भएको जानकारी आएको हो ।
सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने अवस्था देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्