जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १९:०१

गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३३ जना सम्पर्कविहीन, खोजी तीव्र


काठमाडौँ, १० भदौ । गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३३ जना यात्रु बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्डतर्फ दुईवटा माइक्रोबस र एउटा बसमा यात्रुहरू गएका थिए। दुईवटा माइक्रोबसमा रहेका यात्रुहरू भने सुरक्षित रहेको जानकारी प्राप्त भएको नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्।

तर, एउटा बसमा सवार यात्रुको अवस्था अझै अज्ञात रहेको उनले जानकारी दिइन्। उनका अनुसार केही समयअघि उक्त बसमा सवार चार जनाले बसबाट हामफालेर आफूहरू सुरक्षित रहेको जानकारी गराएका थिए। त्यसपछि उनीहरूसँग पनि सम्पर्क हुन सकेको छैन।

पालुङटारबाट गोसाइँकुण्ड गएका ३३ जना यात्रु सम्पर्कविहीन भएको जानकारी आफूले पनि पाएको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए।

उनका अनुसार ३८ जना सवार बसबाट पाँच जना हामफालेर सुरक्षित भएको जानकारी प्राप्त भएको छ भने बाँकी ३३ जनाको अवस्था अज्ञात छ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यात्रुहरूको अवस्थाबारे जानकारी लिन गृह मन्त्रालय र नुवाकोट प्रशासनसँग समन्वय भइरहेको बताए।

यसैबीच, बुधबार बिहान तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न स्थानमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् भने सुरक्षा निकायले खोज तथा उद्धारलाई तीव्र बनाएको छ।